सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वाना खानीमा फेला पर्‍यो

शुक्रबार ७ भाद्र, २०८१ nepalexplores 1634


विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वाना खानीमा फेला पर्‍यो

७ भदौ, काठमाडौं ।
विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला परेको छ। क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९२ क्यारेट हिरा फेला परेको बिबिसीले जनाएको हो।

सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३,१०६ क्यारेटको कुलिनन हिरा अहिलेसम्मकै सबभन्दा ठूलो हो। यसलाई काटेर नौवटा पत्थर बनाइएको थियो। तीमध्ये धेरै बेलायती राजमुकुटहरूमा जडित छन्।

अहिले फेला परेको हिरा कुलिननपछिको दोस्रो ठूलो हो। लुकारा डायमन्ड कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो हिरा फेला परेको जानकारी दिएको हो। ’यो असाधारण २,४९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौं,’ लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भनेका छन्।

कम्पनीले सार्वजनिक गरेको तस्बिरअनुसार यो हिरा मानिसको हत्केलाभरिको छ। लुकाराले मेगा डायमन्ड रिकभरी एक्स–रे प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाएको अध्यक्ष ल्याम्बले जानकारी दिएका छन्। 

बोत्स्वाना सरकारले यो हिरा दक्षिणी अफ्रिकी राज्यमा अहिलेसम्म फेला परेको सबभन्दा ठूलो भएको बताएको छ। बोत्स्वाना विश्वकै सबभन्दा ठूलो हिरा उत्पादकमध्ये एक हो। यसले विश्वव्यापी उत्पादनको करिब २० प्रतिशत हिस्सा ओगटेको छ। 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु