सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

सिकार आरक्ष क्षेत्र ढोरपाटनमा, दर्जन सिकारीलाई अनुमति

बिहीबार २२ चैत्र, २०८० Nepalexplores 1481


सिकार आरक्ष क्षेत्र ढोरपाटनमा, दर्जन सिकारीलाई अनुमति

२२ चैत, बागलुङ ।
पर्यटन क्षेत्र ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष ठाँउमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकोमा केही सिकार भइसकेको बताए।

 

फागु १८ देखि वैशाखको दोस्रो सातासम्म सिकार गर्न आरक्ष खुल्ला गरिएको छ। अनुमति पाएका सिकारीले नाउर, झारल र चार बँदेल सिकार गर्न पाउने छन्। सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन आरक्षमा आउनेजाने क्रम चलिरहेको छ।

 

‘यस वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले सिकार खेल्न अनुमति पाएका थिए’ त्यसमध्ये केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् भने केही सिकारी आरक्षतर्फ आएका छन्। अन्य सिकारी आउने तयारीमा रहेको आरक्ष कार्यालयले जानकारी दिए।


सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन्। सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी तथा सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइएको छ।

 

यस वर्ष प्रतिस्प्रर्धामा स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी सिकारका लागि छनोट भएका थिए। उनीहरूले बन्दोबस्तीका सामग्री १८ फागुन पछि सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन्।

 

विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेको हुन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार याम असोज–मंसिरका लागि आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न अनुमति दिएको थियो। विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ।

 

सिकारका लागि आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ। ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख)मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ। 

 

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु